26 May Friday, 2017

Breaking News:

News

रामलालको ऐनालाई मदन पुरस्कार

मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीद्धारा लिखित ‘ऐना’ कथा संग्रहलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशी दुई लाख रुपैया रहेको छ । 
मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धि सागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग थिए ।
यसअघि विजेताको नाममात्र सार्वजनिक गर्ने गरिएको भए पनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो । कैलालीको धनगढीमा बसेर साहित्य कर्म गर्दै आएका रामलाल जोशीले आफ्नो कथासंग्रह ऐनाले मदन पुरस्कार पाएको खबर धनगढीमै पाए । 
खबर पाउँदा एकसाथ आश्चर्य र खुशीमा डुबे उनी । उनले खुशी साट्दै भने–‘कहिल्यै चर्चामा नआएको र पर्दामा नदेखिएको लेखकको सिर्जनालाई मदन पुरस्कारले विश्वास ग¥यो । निष्पक्ष मूल्यांकन भएको महसुस भइरहेको छ ।’
नेपालमा राजनीति, साहित्यका साथै हरेक क्षेत्रमा भनसुनका आधारमा मात्रै हुने विकृति देखिरहेको बेला आफूले मदन पुरस्कार पाउँदा स्वच्छ मूल्यांकन हुने ठाउँ पनि रहेछ भन्ने लागेको उनले बताए । 
हत्तपत्त राजधानीको नजर नपर्ने मोफसलमा बसेर साहित्य सिर्जना गरिरहेका उनले पाठकको मन जित्न सक्छु कि सक्दिन भन्ने दोधारमा गत वर्ष कथासंग्रह ऐना प्रकाशनमा ल्याएका थिए ।
तर, कृति प्रकाशनमा आएसँगै सुदूरपश्चिमको आञ्चलिक स्वाद पस्किएको भनेर पाठकबाट त राम्रो तारिफ पाए नै, प्रतिष्ठित पुरस्कार पाएपछि केन्द्र मोफसलप्रति पूर्वाग्रही हुने गरेको धारणा पनि मेटिएको महसुस गर्न पाएका छन् ।
डोटी जिल्लाको कानाचौर गाविसबाट २०५० सालमा धनगढी झरेका रामलाल पछिल्लो समय धनगढीमै साहित्य तथा जीवनकर्ममा व्यस्त छन् । यहाँ हुने हरेक साहित्यिक कार्यक्रममा उनी पुगेकै हुन्छन् । 
उनी धनगढीकै पञ्चोदय उच्च माविमा नेपाली विषयका शिक्षक हुन् । साहित्यिक कार्यक्रममा सरसंगति गर्दै सिर्जनामा रमाउँदै जाँदा उनले २०५७ सालमा गजल संग्रह ‘हत्केलामा आकाश’ प्रकाशनमा ल्याएका थिए । ‘ऐना’ उनको दोस्रो कृति हो ।
‘गजल सानो विधा भएकोले मैले देखे–भोगेको स्थानीय जनजीवनका कुरा उतार्न सम्भव थिएन । सुदूरपश्चिमको जनजीवनलाई चित्रात्मक र विम्बात्मक रुपमा उतार्न कथा नै लेख्नुपर्ने देखेँ’ उनले भने ।
ऐना संग्रहमा १९ वटा कथा छन् । तिनमा सुदूरपश्चिम क्षेत्रका सामाजिक पीडा, वादीहरुको भोगाइ लगायतका विषय समेटेका छन् । धेरै नेपाली लेखकको सपना हुन्छ, मदन पुरस्कार पाउने । यस्तो पुरस्कार पाइसकेपछि रामलालले अब लेखनमा फरकपन आउने विश्वास गरेका छन् । 
उनले भने–‘कथासंग्रहबाट पाठक, समीक्षकहरुको राम्रो टिप्पणी पाएँ । अझै परिपक्क भएर लेखनमा लाग्छु ।’ उनले सुदूरपश्चिमका नउघ्रुका धेरै पाटाहरु रहेको चर्चा गर्दै अब त्यसलाई समेट्न उपन्यास लेख्ने सोंचमा रहेको बताए ।