26 May Friday, 2017

Breaking News:

News

मिटर ब्याजमा फसेपछि डेरी व्यापारी बेपत्ता

मिटर ब्याजमा फसेपछि क्याम्पस रोडका व्यवसायी एवं नयाँ शक्ति नेपालका नेता दिपक खड्का ११ जना घर परिवारका सदस्य सहित बेपत्ता भएका छन् । विभिन्न व्यक्ति, व्यवसायी र बैंकको करौडौं रकम लिएर खड्का बेपत्ता भएका हुन् । 
उनी पाँच दिनदेखि सम्पर्क विहीन भएपछि उनीसंग कारोबार गरेकाहरु बिचल्लीमा परेका छन् । असोज ८ गते आफन्त र नातेदारलाई कुनै खबर नै नगरी खड्का सम्पर्कविहीन भएपछि कारोवारीहरु उनको पसलतिर धाईरहेका छन् । 
परिवार सहित बेपत्ता भएका खड्काले आफू र परिवारका सदस्यलाई ज्यान मार्ने धम्की आएकोले थाईल्याण्ड गएको डायरीमा लेखेर छाडेका छन् । १२ करोड रुपैया आफूले ठगेको स्वीकार गरे पनि उनले नगद दुई करोड मात्रै लगेको डायरीमा लेखेका छन् । ठगेको मध्ये बाँकी १० करोड रुपैया धनगढीका सेख मुनीर अहमदले खाएको आरोप लगाएका छन । 
आफूलाई स्थानीय प्रशासन र प्रहरीले न्याय नदिएका कारण भागेको डायरीमा लेखेका खड्काले मुनीर नै मिटर ब्याजका मुख्य योजनाकार रहेको दावी गरेका छन् । डायरीमा धेरैको जग्गा राखेर रकम लिएको, आफूले लिने–दिने व्यक्तिहरुको नाम ठेगाना सहित डायरीमा लेखेका छन् । 
उनले लेखेको डायरीमा उनी मिटर ब्याजमा फसेको र आफू सहित परिवारलाई ज्यान मार्ने धम्की आएका कारण भागेको उल्लेख छ । उनले सञ्चालन गरिरहेको दीप डेरी उद्योगमा फेला परेको डायरीमा आर्थिक रुपमा आफूलाई एक जनाले योजनावद्ध रुपमा फसाएर डुवाएपछि र परिवारको सदस्यहरुको ज्यान असुरक्षा भएपछि भागेको लेखेका छन् । 
धनगढीमा शेख मुनीर अहमदले आफूलाई रकम संकलन गर्न लगाई अधिकांश रकम आफैले लगेको र रकम माग्दा गुण्डा लगाएर मार्न खोजेपछि भागेको उनले लेखेको डायरीमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लेखिएको डायरीमा न्याय नपाएका कारण भागेको र थाइल्याण्ड गएको उल्लेख गरिएको छ । 
एक÷डेढ महिनापछि नेपाल फर्किने लेखेका उनले रोयल गुप्रका सदस्यहरुलाई थाईल्याण्डमा बोलाउने उल्लेख गरेका छन् । केही दिन अगाडि मुनीरसंग झगडा भएको र सोबारेमा आफूले भिडियो देखाउँदा पनि प्रशासनबाट सहयोग नभएको, करकापमा एक करोड ४४ लाखको कागज गराईएको उनको डायरीमा लेखिएको छ । 
आफूहरुले १२ करोड संकलन गरेकोमा २ करोड आफ्नो भाग र १० करोड मुनीरको भागमा रहेकाले मालिका विकास बैैक, बैंक अफ काठमाण्डांै, एनसीसी बैंकलगायतका बैंकबाट लिईएको ऋण मुनीरलाई तिर्न भनिएको छ । 
अनिल भुजानिया, कुँबेर शाही, तिर्थ पन्तलगायत विभिन्न व्यक्ति र पसलहरुबाट चेक मागेर आफूले मुनीरलाई दिएको भन्दै खड्काले सबै रकम मुनीरबाट नै असुल गर्न प्रशासनलाई लिखित आग्रह गरेका छन् । केही चेकहरु मुनीर श्रीमती आरती लामिछानेको नाममा कारोबार हुने गरेको र धेरैलाई घरबारविहीन बनाएको उनको डायरीमा लेखिएको छ । 
आफू आफ्ना दिदी, भिनाजु र कामदारहरुलाई पूजा गर्न जान्छु भनेर हिंडेको खड्काले डायरीमा लेखेका छन् । उनले आफन्त र कामदारहरुलाई केही पनि थाहा नभएकोले उनीहरुको सुरक्षा गर्न पनि स्थानीय प्रशासनसंग माग गरेका छन् । 
भरत कुँवरलगायतको ४ करोडको चेक मुनीरसंग रहेको, भोजराज विश्वकर्मा, आफ्नो र मन्सरा खडकालगायतको जग्गा फुकुवा गराउन र कैलाश शाह, देबबहादुर बिष्टलगायतको जग्गा फुकुवा गराई दिन खड्काले डायरी मार्फत सहयोग माँगेका छन् ।  
उनले मुनीरले आफूलाई वन कार्यालयमा धम्काएको समेत उल्लेख गरेका छन् । २१ जनाको रोगजारी, तीन सय लिटर दूध किन्ने, वाािर्षक १० लाख राजश्व तिर्ने काम गुमाएको र धेरैको रकम लिएकोमा पटक पटक माफी माग्दै उनले गौशालामा रहेको डेरी किराना पसलको सुरक्षा गर्न आग्रह पनि गरेका छन् । 
लियो क्लब, नयाँ शक्ति र डेरी एशोसिएसनको जिम्मेवारी अरुलाई दिन लेख्दै खड्काले डायरीको अन्त्यमा बाई–बाई नेपाल समेत लेखेका छन् । उनी नयाँ शक्ति नेपालका धनगढी नगर संयोजक समेत थिए ।
रकम दिएकाहरुको दैनिक ओईरो
छोटो समयमा व्यवसायिक रुपमा सफल भएको भन्दै चर्चा बटुलेका व्यवसायी खड्का अचानक बेपत्ता भएपछि उनलाई खोज्नेको भीड लागेको छ । 
दीप डेरी उद्योग सञ्चालन गर्दै व्यवसायतिर लागेका उनी चार दिनदेखि कुनै खबर नगरि घर परिवारका सबैै सदस्य लिएर बेपत्ता भएपछि कारोबारीहरु बिचल्लीमा परेको भन्दै उनको पसल वरिपरी धाईरहेका छन् । 
आफूहरुलाई विभिन्न प्रलोभन दिएर ठगी गरेको भन्दै खोजी गर्नेहरुको क्याम्पसरोड वरपर घुँईचो नै लाग्ने गरेको छ । साढे १२ कठ्ठा जग्गा राखेर साढे २७ लाख रकम ऋण निकाल्न दिंदा अहिले आफू बिचल्लीमा परेको धनगढी जुगेडाका देव बिष्टले बताए । 
असोज ८ गते बिहान आफन्तहरुलाई पूजाआजा गर्नु छ भन्दै पसलमा र घरमा आफन्तलाई राखेर उनी हिडेका थिए । पछि बनबासा हुँदै भारत गएको ११ जनाको परिवारले बुकिङमा लगेका दुई वटा गाडीको चावी लगेर गएको र पछि नफर्किएपछि त्यस बारेमा कारोबारीहरुको चासो बढेको हो । 
गाडीका चालकहरुले महेन्द्रनगर घटनाबारे बताएपछि धनगढी खबर गर्दा मात्रै पसल र घरमा राखिएका उनका आफन्तले थाहा पाएका थिए । बुवा, आमा, दाई, भाउजु श्रीमती र दुवै दाजुभाईका ५ छोराछोरी सहित ११ जना सम्पर्क विहीन भएपछि कारोबारीहरु खोजीनीति गर्न थालेका हुन् । 
आफूले आठ लाख दिएको र त्यसको चेक असोज १५ मा साट्नु भनेको भन्दै रोज मोटरसाईकल रिकण्डीसन हाउसका सञ्चालक हरेन्द्र बमले ठूलो रकम डुब्दा समस्या परेको बताए । दीप डेरीका सञ्चालक खड्काले आफै घरमा गाई, भैसीपालन गर्दै व्यवसाय सुरु गरेका थिए । 
त्यसपछि उनले रोयल बिजनेश ग्रुपको नाममा खुद्रा पसललगायत विभिन्न व्यवसाय साझेदारीमा गर्दै आएका थिए । अघिल्लो वर्ष धनगढीमा भएको राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा उनी एक टिमका मालिक समेत बनेका थिए । 
उनले हजारदेखि करोड रकमसम्म धेरै व्यक्तीहरुबाट लिएको देखिएको छ । कतिपयलाई रकम दिने बित्तिकै चेक दिने, कतिपयको जग्गा बैंकमा राखेर ऋण लिने र कतिपयलाई कारोबारकै रकम पनि तिर्न बाँकी रहेको थियो । 
डेरीमा दूध दिन आएकाहरु पनि रकम डुबेको भन्दै निराश भएका छन् । सामान्य रुपमा व्यवसाय गर्दागर्दै करौडौंको सम्पत्ति जोडेका दिपक खड्काले मिटर ब्याजमा करौडौं रकम लिने गरेको पनि पाईएको छ । यही विषयमा शेख मुनीर अहमद नाम गरेका काँग्रेसका नेता तथा ठेकेदारसंग पनि केही समय अगाडि हानाहान भएको बताइएको छ । 
खड्काले काठमाण्डौमा चार करोडका जग्गा किन्नका लागि रकम अपुग भएपछि मुनीरसंग डेढ करोड रुपैया मिटर ब्याजमा जग्गा दृष्टिबन्धक राखेर लिएकोमा मुनीरले ९९ लाख मात्रै दिएर बाँकी असुली गर्न खोजेपछि खड्काले गिलासले हानेका थिए । 
लेनदेनको विषयमा भएको विवादका कारण मुनीरले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका बेला दुवै जनाले आपसी सहमतिमा घटना मिलाएका थिए । खड्का बेपत्ता भएपछि उनीसंग लेनदेनेको कारोबार गर्नेहरु पसल वरपर घुमिरहे पनि प्रहरीमा कसैले पनि उजुरी दिएका छैनन् ।