26 May Friday, 2017

Breaking News:

News

image not found

कर्मयोगी आचार्य बालकृष्ण

दीर्घराज उपाध्याय
भारतको हरीद्वारबाट रुडकी जाने सडक हुदै तीन किलोमिटर दूरी तय गरेपछि एउटा सानो खोला आउछ । त्यो खोला पारे गरे सडक रुडकी तर्फ अघि बढ्छ । तर पुल नतर्दै खोलासंगै दक्षिणतर्फ मोडिएको सानो बाटो हुदै करीब पाँच सय मिटर अगाडि पुगे सडकसंगै टासिएको एउटा पुरानो आश्रममा पुगिन्छ ।
सन १९३२ मा स्वामी कृपालु देवजी महाराजले स्थापना गरेको कृपालु बाग नामले चिनिने यही आश्रम कुनै बेला स्वतन्त्रता संग्राम सेनानीहरुका लागि सुरक्षित आश्रय स्थल थियो । कहिले पनि चहलपहल घटेन, यो आश्रममा । न त स्वतन्त्रता संग्रामको समयमा । न त त्यसपछि नै । अंग्रेज मुक्त भारतका लागि थालिएको आन्दोलनको आश्रयस्थल बनेको यही आश्रम स्वामी रामदेव र आचार्य बालकृष्णले सम्हालेयता भने गरिवी र अभावमुक्त समाज निर्माणको महान अभियानको बिऊ रोप्ने ठाऊ बन्यो । 
५ जनवरी १९९५ मा यही आश्रममा स्थापना भएको दिव्य योग मन्दिर ट्रस्टको  बिशालकाय रुप नै पतञ्जली योगपीठ हो । यही आश्रमबाट शुरु हुन्छ, योग र आयुर्वेदका माध्यमबाट मानवीय सेवा गर्ने कर्मयोगी आचार्य बालकृष्ण र योगी स्वामी रामदेवको दृढ संकल्प । 
गुरुकुलको शिक्षा पुरा गरेपछि आचार्य बालकृष्ण आयुर्वेद र जडिबुटीको अध्ययनका लागि हिमालय (गंगोत्री) गए । त्यसको केही समयपछि स्वामी रामदेव पनि हिमालय 
पुगे । हिमालय जानु अघि नै लोककल्याण कार्य शुरु गर्न र आश्रमको दायित्व सम्हाल्न स्वामी शंकरदेव महाराजले स्वामी रामदेव र आचार्य बालकृष्णलाई आमन्त्रण गरेका 
थिए । हिमालयबाट फर्केपछि आश्रमको दायित्व सम्हालेका स्वामी रामदेव र आचार्य बालकृष्णले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन ।
२१ वर्षअघि दुई जना परिचित व्यक्तिबाट १२ हजार रुपैया ऋण सापटी लिएर यही आश्रमबाट शुरु गरेको दिव्य योग मन्दिर ट्रस्ट हुदै फैलिएको पतञ्जली योगपीठ भारतको सीमा बाहिर थुप्रै देशमा मात्र मानवीय सेवामा समर्पित छैन । प्रबन्ध निर्देशक आचार्य बालकृष्ण यसैका माध्यमबाट जडिबुटी र आयुर्वेदको सम्मिश्रणले उत्पादन भईरहेका सामान र औषधीको बिक्री तथा त्यसको कारोबारबाट भारतकै २५ औ धनीको सूचिमा दरिएका छन् ।
कनखलमा रहेको यो आश्रमको न नाम फेरिएको छ । न बाहिरी बनोट । काम र कारोवारको मात्रा दिन दुगुना राता चौगुना बढ्दै गएपछि यसकै पछिल्तिर थपिएका छन्, केही पक्की भवनहरु । न त आचार्य बालकृष्णले आफूलाई संसारमा चिनाउने यो आश्रयस्थलको परिसर नै छाडेका छन् । फरक यत्ति छ, पहिले सडकसंगै जोडिएको पुरानो आश्रममा बस्थे । अहिले त्यही आश्रमको पछाडिको भागमा बनेको नयाँ आश्रममा बस्छन ।
भलै, उनका कार्यालयहरु र कार्यक्षेत्रहरु विश्वभरी फैलिएका छन् । तर उनी साँझ भने यही आश्रममा पुग्छन । जहाँ उनले कठिन र संघर्षका दिनमा ओत पाएका थिए । 
५० भन्दा बढि कम्पनीका मालिक रहेका आचार्य बालकृष्णसंग २६ हजार पाँच सय करोड भन्दा बढिको सम्पत्ती छ । 
अझै रोचक कुरा त के भने फोब्र्स अनुसार भारतको ४८ औ र हारुन पत्रिकाका अनुसार  २५ औ धनीहरुको स्थानमा पुगेपनि न त उनको जीवनशैली बदलिएको छ । न त आनीबानी र रहन सहन नै । 
मलाई यस्ता कुराले खासै फरक 
पार्दैन । मेरो दिनचर्या हिजो जस्तो थियो । आज पनि उस्तै छ, आचार्य बालकृष्ण भन्छन्, भारतको अत्यन्त दु्रतगतिमा प्रगती गरिरहेको उद्योगका रुपमा पतञ्जली स्थापित हुनु र हाम्रा ब्राण्डले कमाएको विश्वसनीयता र ख्यातीले यसको मूल्यांकन निकै बढि गरिनुले भने खुशी छु । सेतो कुर्ता, सेतै धोती उनको मनपर्ने पहिरन हो । शिक्षा र संघर्षका दिनहरुमा हजारौ माईल पैदल र साईकलमा पार गरेका आचार्य बालकृष्ण अहिले पनि जुत्ताको प्रयोग गर्दैनन । चप्पल लगाउछन । त्यो पनि ५० रुपैया पर्ने । उनी भन्छन्,’यो मेरो मजबुरी होईन । मेरो ईच्छा हो । मलाई सुटेबुटेड र हाईफाई मन पर्दैन । मैले सन्यास लिएको छैन । म ब्रह्मचारी हूँ । कुनैपनि चिजको प्रयोग गर्न दुनियाको कुनै प्रतिबन्ध त ममाथि छैन । व्यक्तिगत जीवन निर्बाहका लागि कम भन्दा कम बस्तुको प्रयोग गरेर समाज र संस्कृतिका लागि केही काम गर्ने मेरो सोच हो ।’
भारतको सबैभन्दा ठूलो सेमिनार हल, भारतकै सबैभन्दा ठूलो योग ग्राम, भारतकै सबैभन्दा ठूलो आयुर्वेदिक तथा जडिबुटी उत्पादन गर्ने उद्योग उनको नेतृत्वमा सञ्चालनमा छन् । पतञ्जली योगपीठको प्रमुख कार्यकारी अधिकृत, पतञ्जली विश्व विद्यालयको कुलपति रहेका आचार्य बालकृष्ण आचार्यकुलम, बैदिक गुरुकुलम, पतञ्जली आयुर्वेद महाविद्यालय, पतञ्जली अनुसन्धान केन्द्र, गुरुकुल गौशाला, ग्रामोद्योग,दिव्य फार्मेसी, भारत स्वाभिमान ट्रस्ट, दिव्य साधना, दिव्य प्रकाशन, पतञ्जली फुड एवं हर्वल पार्क प्रा.लि.का पनि प्रमुख हुन् । आस्था,संस्कार, सत्संग र डिडि न्यूज च्यानल उनकै मातहतमा सञ्चालनमा छ । 
योग, आयुर्वेद, प्राकृतिक चिकित्सा 
(पञ्चकर्म बिधि) माध्यमबाट मानवीय सेवा गर्ने एक मात्र ध्येयले उनी निरन्तर जडिबुटीको खोजमा छन् । पतञ्जली योगपीठबाट करीव २२ किमी दूरीमा औरंगावादमा करीब दुई सय एकडमा फैलिएको योगग्राममा दैनिक चार सय जनाको प्राकृतिक चिकित्सा पञ्चकर्म बिधिद्धारा उपचार हुन्छ । पहाडको फेदिमा बगरका बीचमा निर्माण गरेको भव्य र आलिशान योगग्राम र त्यसको व्यवस्थापन देख्दा जो सुकै चकित पर्छन । ठट्टा जस्तो लाग्छ, हावा, पानी र माटोबाट उपचार हुने कुरा । 
’बिरामीको उपचारमा हामीले कुनै औषधी दिदैनौ ।’ योगग्रामका महाप्रबन्धक एमसी राजपुत भन्छन्, ुहावा, पानी र माटोबाट बिरामीको उपचार गर्छौ, र यही बिधिबाट निको भएर हजारौ व्यक्तिहरु घर फर्किसकेका छन् । र अहिले पनि उपचारका लागि यहाँ आउनेको ताती छ । अनलाईनबाट बुकिङको व्यवस्था गरेका छौ । प्रतिदिन दुई हजार देखि पाँच हजार रुपैयासम्म शुल्क तिरेर उपचारका गर्न पालो पाउन कम्तिमा तीन महिना कुर्नुपर्छ ।“  
भिभिआईपीहरुको उपचारको सुबिधाका लागि योगग्राम भित्र सेभेन स्टार स्तरको सुबिधा र उपचारका लागि सम्पन्न भवन तथा संरचना समेत बनिसकेको छ । जुन उद्घाटनका क्रममा छ ।
४४ वर्षअघि भारतमा जन्मिएका बालकृष्णको बाल्यकाल गरीवी र अभावमा बित्यो । नेपालको स्याङ्जाबाट कामको खोजीमा भारत पसेका उनका बुवाले चौकीदारी र भाडा माझेर उनलाई हुर्काए ।  बाल्यकालका केही वर्ष नेपालमा बिताएका बालकृष्णको बाँकी पुरै जीवन अध्ययन, आयुर्वेद र योगलाई पुनर्जीवन दिदै भारतमा बितेको छ । 
यद्दपि उनले नेपाली भाषा बिर्सिएका छैनन । नेपालीहरुसंग नेपाली भाषामै कुरा गर्छन । यद्दपि नेपालीमा कुरा गर्दा गर्दै कतिपय हिन्दी शब्द निस्किन्छन । र उनी आफ्नो पुर्खा नेपाली रहेको निसंकोच बताउछन् । र गर्व गर्छन, आफू नेपालीको छोरो भएकोमा ।  भारतमा बस्ने कतिपय नेपालीहरुले आफ्नो पहिचान लुकाएकोमा उनी गुनासो गर्छन । नेपाली दम्पत्तीका सन्तान भएपनि आचार्य बालकृष्णले भारतमा जन्मेर यही हुर्केका कारण नेपाली नागरिकता लिएनन । भारतीय नागरिकता र भारतीय राहदानी लिएका आचार्य बालकृष्णलाई भारत सरकारले दोहोरो नागरिकता लिएको आरोपमा जेल पनि हालेको थियो । भ्रष्टाचार र कालो धनका बिरुद्ध आन्दोलन गरेका कारण काँग्रेस आईको सरकारले प्रतिशोध साँधेर जेल हालेको उनको आरोप छ ।
देवभूमिका रुपमा चिनिने भारतको उत्तराखण्डलाई भारत तथा संसारभरी चिनाउन रातदिन मिहिनेत गरिरहेका भएपनि आचार्य बालकृष्ण र उनका सहकर्मी स्वामी रामदेवलाई अहिलेपनि काँग्रेस आई नेतृत्वको उत्तराखण्ड सरकारले असहयोग गरिरहेको छ । यसअघि केन्द्रमा रहेको काँग्रेस आई नेतृत्वको सरकारले सक्दो दुःख दिएको आचार्य बालकृष्ण सुनाउछन् । भारतीय जनता पार्टीको नेतृत्वमा केन्द्रमा बनेको सरकारसंग भने समधुर सम्बन्ध छ, आचार्य बालकृष्ण भन्छन्, उत्तराखण्ड सरकारले सहयोग त होईन, सक्ने जति असहयोग भने गरेको छ ।
जस्तो सुकै कठिन परिस्थिति, बिपत्ति र व्यवधानमा बिचलित नभएका कारण आफू अहिलेको अवस्थामा आईपुगेको आचार्य बालकृष्ण सगर्व सुनाउछन् । कमजोर मान्छे सानो समस्यामा टुट्छ । आचार्य बालकृष्ण अनुभव सुनाछन्, तर आफूलाई जस्तोसुकै कठिन परिस्थितिमा कमजोर हुन नदिने मान्छे झन बलियो हुदै जान्छ । 
अमेरिका, क्यानडा, नेपाल लगायतका मुलुकमा पतञ्जली योगपीठका शाखा विस्तार गरिसकेका आचार्य बालकृष्णले बेलायतमा पतञ्जलीको बिशाल टापु रहेको सुनाए । महाराष्ट्रको नागपुरमा दुई सय ५० एकड जमीन लिएर पतञ्जली फुड तथा हर्वल पार्कको शिलन्यास गरिसकेको पतञ्जली योगपीठले दिल्लीको नोयडामा चार सय ५० एकड, मध्यप्रदेशको ईन्दौरमा तीन सय एकड, सिक्किम, दार्जिलिङमा सयौ एकड जमीन लिएर फुड तथा हर्वल पार्क स्थापना गर्न लागेको छ । 
योग र आयुर्वेदका माध्यमबाट संसारभरी मानवजातीको सेवा गर्ने ध्येयले काम गर्दै आएका आचार्य बालकृष्ण भारतसंगै नेपालको गरीवी अन्त्यका लागि काम गरिरहेका छन् । भारतमा दर्जनौ राज्यमा शिक्षा, स्वास्थ्य, र रोजगारी उत्पादनका लागि काम गरिरहेका आचार्यको निकट भविश्यमा ६ सय २४ जिल्लामा आचार्य कुलम खोल्ने योजना छ ।
भारतमा ५ हजार भन्दा बढि योग केन्द्र तथा आयुवर्वेदिक चिकित्सालय, एक लाखभन्दा बढि निशुल्क योग कक्षा सञ्चालन गरिरहेको पतञ्जली योगपीठले १० लाख भन्दा बढि योग शिक्षक जन्माएको छ ।
पतञ्जली योग पीठ उत्तराखण्डमा सबैभन्दा बढि रोजगारी र सरकारलाई कर तिर्ने संस्था हो । पतञ्जलीमा प्रत्यक्ष रुपमा २० हजारले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा रोजगारी पाउने र लाभान्वित हुनेको संख्या लाखौमा छ । 
उसका उत्पादनले करौडौ  जनताले सेवा पाईरहेका छन् । र उनी एक सय २० अर्ब आवादी रहेको भारतमा सिमित नरहेर संसारभरीका मानवजातीको सेवा र कल्याण गर्ने महान उद्देश्यका साथ निरन्तर अघि बढिरहेका छन् । बिहान ४ बजे उठेर शुरु हुने उनको दिनचर्या राति नसुत्दा ( १० बजे ) सम्म व्यस्ततामा बित्छ । काममा बित्छ । भन्छन्, काम बाहेक मेरो अरु कुनै काम छैन । त्यही कामले उनले प्राप्त गरेको यश, ऐश्वर्य र समृद्धि निकै लोभलाग्दो छ । कामको व्यस्तता, समयको अभाव र त्यसमाथि सडकमा हुने झञ्झटिलो जामको सास्तीबाट मुक्ति पाउन उनी नजिकैका शहरहरुमा जादा आफ्नै नीजि हेलिकोप्टर (ख्त्(द्यप्ब् ० प्रयोग गर्छन । तर शहरभित्रै यात्रा गर्दा भने ग्प्ण्डब्ीण्ण्ण्ड नम्बरको सेतो रंगको रेञ्ज रोभर प्रयोग गर्छन ।
कामको व्यस्तता, कडा सुरक्षा घेराका बीचमा पनि उनलाई भेट्ने खोज्नको ताती हुन्छ । यसरी भेट्न खोज्नेमा सर्वसाधारणदेखि देशविदेशका मन्त्री तथा राष्टूप्रमुख हुन्छन । भारत भ्रमणका क्रममा सेप्टेम्बर महिनामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली योगपीठको अवलोकन गरेका थिए । आचार्य बालकृष्णले नेपालका प्रधानमन्त्रीलाई पतञ्जली योगपीठको अवलोकन गराउने सोच पुरा भएको सुनाए । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा पनि शिक्षा,स्वास्थ्य र आयुर्वेदका क्षेत्रमा काम गर्न आग्रह गरेको उनले बताए । बिरगञ्जमा पतञ्जली योगपीठको उद्योग खोलिसकेका आचार्य बालकृष्णले छिट्टै नेपालमा शिक्षा स्वास्थ्यमा समेत ठूलो लगानी गर्ने योजना रहेको सुनाए । भुकम्पबाट प्रभावित ८० जना बालबालिकालाई पढाई रहेका उनले निकट भविश्यमै आयुर्वेदिक कलेज खोल्न लागेको बताए ।
कुराकानीका क्रममा नेपालका उद्योगबाट प्राप्त हुने मुनाफा भारतमा नल्याउने उद्घोष मात्र गरेनन । उनले त्यो मुनाफा नेपालको विकास र नेपाली जनताको गरीवी निवारणमा लगानी गर्ने प्रतिबद्धता सुनाए । नेपाल प्रति उनको बिशेष लगाव छ । नेपालमा कुनै विपत्ति अथवा समस्या आईपर्दा उनी चिन्तित हुन्छन् । गतवर्ष नेपालमा महाभुकम्प आउदा पतञ्जली योगपीठको आयोजनामा काठमाण्डौंको टुडिखेलमा बिशाल योग शिविर सञ्चालन भईरहेको थियो । भुकम्पले ठूलो क्षति गरेपछि योग शिविर छाडेर पतञ्जलीका स्वयमसेवकहरु भुकम्प पिडितहरुको उद्दार र राहतमा खटिए । हरिद्धारबाट समेत करोडौ रुपैया नगद र राहत सामग्री पठाईएको थियो । 
पतञ्जलीका हरेक कार्यालय र कार्यकक्षमा आचार्य बालकृष्ण र स्वामी रामदेवका तस्वीरहरु झुण्ड्याइएका छन् । जुनसुकै ओहोदा र फाँटमा कार्यरत भएपनि सबैले अभिवादनका क्रममा ॐ भन्छन । सरल र सहज छन्, पतञ्जली योगपीठका कर्मचारी । सर्वसाधारणले सोधेको कुनै पनि जिज्ञासाको जवाफ झर्को नमानी जवाफ दिन्छन । अत्यन्तै भद्र र अनुशासित छन्, पतञ्जली योगपीठका कर्मचारीहरु । यो कुरा पनि अन्य संघसंस्थाले सिक्ने कुरा हुन् ।
आचार्य बालकृष्णका अनन्य मित्र स्वामी रामदेव उनलाई कुशल प्रशासक, अत्यन्त मिहिनेती, ईमान्दार र कर्तव्यनिष्ठ संज्ञा दिन्छन् । 
अर्का बालसखा आचार्य महेशानन्द विद्यालंकार आचार्य बालकृष्णलाई पतञ्जली ऋषिको आधुनिक अवतार बताउछन । 
आचार्य बालकृष्णले सुषप्त अवस्थामा रहेको ऋषि परम्परालाई पुनर्जीवन दिनुभएको छ । योग, अध्यात्म र आयुर्वेदलाई विश्वभरीमा नयाँ ढंगले चिनाउनुभएको छ । र त्यही योग,अध्यात्म र आयर्वुेदका माध्यमबाट समाजको कल्याण गरिरहनु भएको छ, आचार्य विद्यालंकार भन्छन्, उहाँले कहिले आफ्नो बारेमा सोच्नु हुन्न । विश्वस्तरबाट सोच्नु हुन्छ । हरेक कुरा विश्व लाई के फाईदा हुन्छ भनेर सोच्नु हुन्छ । 
स्वामी रामदेवसंगको अटुट सम्बन्ध र विश्वास, जस्तोसुकै कठिन परिस्थितिमा बिचलित नहुने स्वभाव, निरन्तर खोज र अनुसन्धान गरिरहने बानी, हिन्दु संस्कृति 
र ऋषि परम्परालाई पुनर्जीवन दिदै योग 
र अध्यात्मलाई बिज्ञानसंग जोडेर समाजको सेवा गर्ने दृढ प्रतिज्ञा आचार्य बालकृष्णका सफलताका कारणहरु हुन् । यही सफलताका कारण उनी नेपालीहरुका लागि मात्र प्रेरणादायी बनेका छैनन । भारत वर्ष र 
समग्र विश्वकै लागि अनुकरणीय 
व्यक्तित्व बनेका छन् ।