26 May Friday, 2017

Breaking News:

News

साहित्यकारको पलेटी सम्पन्न

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अध्ययन तथा कामको शिलशिलामा धनगढी आएका साहित्यप्रेमीहरुले संचालन गरेको एउटा पृथक साहित्यिक कार्यक्रम पलेटीको तेस्रो श्रृखला शनिवार सम्पन्न भएको छ । 
महिनाको अन्तिम शनिबार सर्जककै निवासमै गएर साहित्य सिर्जना वाचन गरिने उक्त कार्यक्रमको तेस्रो श्रृखला सुदूरपश्चिम साहित्य समाज धनगढीका उपाध्यक्ष हेमन्ती जोशीको सन्तोषी टोल स्थित निवासमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकारहरुले आफ्ना सृजना वाचन गरेका थिए । सुदूरपश्चिमको सहित्यलाई उजागर गर्ने उद्देश्यले साहित्यकारकै निवासबाट सिर्जना वाचनको थालनी गरिएको गजलकार डिल्लीराज ओझा समर्पणले बताए । 
यस क्षेत्रको साहित्यलाई अझै सशक्त ढङ्गबाट अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले पृथक ढङ्गले कार्यक्रमको थालनी गरिएको युवा चर्चित गजलकार टोपेन्द्र शाह रसिकले बताए । शनिवार भएको पलेटीको तेस्रो श्रृखलामा यस क्षेत्रका अग्रज साहित्यकार सहित मध्यपश्चिमका चर्चित युवा गजलकार दिपक आचार्य जलनको समेत उपस्थिति रहेको थियो । 
कार्यक्रममा आफ्नो सुन्दर सृजना वाचन गरिसकेपछि गजलकार जलनले आफूले यसरी सर्जककै निवासमा आएर रचना वाचन गर्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिए । अनौपचारिक रुपमा महिनाको अन्तिम शनिबार हुने पलेटीको  चौंथो श्रृखला संचारकर्मी तथा गजलकार चन्द्र थापाको नेत्तृत्वमा हुने पलेटी समूहले जनाएको छ ।