26 May Friday, 2017

Breaking News:

News

घोडाघोडीको प्रचार प्रसारका लागि महोत्सव

 
विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको प्रसिद्ध घोडाघोडी सिमसार क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना हुने भएको छ । 
आगामी माघ ७ देखि १६ गतेसम्म घोडाघोडी महोत्सवको आयोजना गर्ने घोडाघोडी उद्योग वाणिज्य सङ्घले शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको पर्यटन, कृषि, व्यापार, खाद्यान्न उत्पादनको सम्भानालाई उजागर गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको सङ्घका अध्यक्ष चन्द्रप्रकाश चौलागाइँले बताए । 
‘सिमसार क्षेत्रको रुपमा परिचित कैलालीको मध्यवर्ती क्षेत्रमा कृषि, पर्यटन, व्यापार व्यवसाय र खाद्यान्न उत्पादनको अथाह सम्भावना छ’, उनले भने–‘तर, यी सम्भावनाको अझै पर्याप्त मात्रामा उजागर हुन सकेको छैन । यसको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेका हौं ।’
१० दिनसम्म सञ्चालन हुने महोत्सव विशेष गरेर सिमसार क्षेत्रको प्रचार प्रसारमा केन्द्रित रहने सङ्घका उपाध्यक्ष होम आचार्यले बताए । महोत्सव मार्फत घोडाघोडी सिमसार क्षेत्रमा पाईने चराहरुका बारेमा पनि जानकारी गराईने आयोजकले जनाएको छ । 
स्थानीयस्तरबाट भइरहेको गतिविधिले घोडाघोडी सिमसार क्षेत्रको संरक्षण गर्न गाह«ो रहेको उल्लेख गर्दै संरक्षणका लागि महोत्सव मार्फत राज्यको ध्यानाकार्षण समेत गराउने सङ्घका सल्लाहकार ममताप्रसाद चौधरीले बताए । 
‘घोडाघोडी सिमसार क्षेत्रको ‘पोटेशियालिटी’ धेरै छ’, उनले भने–‘तर, स्थानीय स्तरबाट मात्रै संरक्षण गर्न गाह«ो छ । हामी चाहन्छौं सरकारले विकास कोष वा विकास समिति गठन गरेर संरक्षण गरोस ।’
खप्तड संरक्षण विकास समिति गठन भए जस्तै घोडाघोडी विकास संरक्षण समिति गठन गरेर सरकारले नै घोडाघोडी सिमसार क्षेत्रको रेखदेख गर्नु पर्नेमा सङ्घले जोड दिएको छ ।  
महोत्सवमा स्थानीय राजी, थारु समुदायको सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । बढीमा दुई सय स्टल रहने महोत्सवमा डेढ देखि दुई करोड रुपियाको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष चौलागाइँले बताए । महोत्सव आयोजनाका लागि २५ देखि ३० लाख रुपिया खर्च हुने आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन व्यापार व्यवसायमा संलग्न व्यक्तिबाट गराईने जनाइएको छ । 
विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्र अन्तर्गत घोडाघोडी सहित ठूला साना गरी २० वटा ताल पर्दछन् । घोडाघोडी सिमसार कैलालीको प्रमुख पर्यटकी क्षेत्र रहे पनि यसको प्रचार प्रसार व्यापक रुपमा हुन नसकेको घोडाघोडी उद्योग वाणिज्य सङ्घको ठहर छ ।