26 May Friday, 2017

Breaking News:

News

image not found

ग्रामीण क्षेत्रमा शाखा रहित बैकिङ्ग सेवा विस्तार

धनगढी । जनता बैंक नेपाल लिमिटेडले कैलालीको ग्रामीण क्षेत्रमा आफ्नो शाखा रहित बैकिंग सेवा विस्तार गरेको छ । 
ग्रामीण क्षेत्रका जनतालाई सुलभ तरिकाले सेवा उपलब्ध गराइने उद्देश्यले चौमाला, मसुरिया, पहलमानपुर, हसुलिया गरी पाँच ठाउँमा शाखा रहित सेवा विस्तार गरिएको सो बैंकले जनाएको छ । बैंकिग पहुँच नभएका समुदायहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यूके एड सक्षम एक्सेस टु फाइनान्सको सहकार्यमा यी गाविसहरुमा सेवा विस्तार गरिएको हो । 
उक्त शाखा रहित सेवा केन्द्रबाट निक्षेपमा मात्रै केन्द्रित नभइ बैंकले विभिन्न किसिमका कृषि तथा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने बैंकका धनगढी शाखाका प्रबन्धक मुकुन्द प्रसाद भट्टले जानकारी दिए । शुक्रवार चौमाला क्षेत्र र शनिवार मसुरिया तथा पहलमानपुरमा आफ्नो सेवा विस्तार गरेको सो बैंकले आइतवार हसुलियाबाट सेवा सुरु गरेको छ । 
शाखा रहित सेवाको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापाले उद्घाटन गरे । सो अवसरमा यूके एड सक्षम एक्सिस टु फाइनान्सका सिनीयर प्रोग्राम सपोेर्ट म्यानेजर प्रशन्न केसी सहित स्थानीय व्यापारी, बुद्धिजिवि, सर्वसाधारण लगायतको उल्लेख्य सहभागिता रहेको थियो । 
शाखा रहित बैंकिग सेवाको सुरुवातले ग्रामीण क्षेत्रमा रहेका स्थानीयलाई वित्तीय सेवा उपभोग गर्नका लागि सदरमुकाम धनगढी धाउनु पर्ने बाध्यता हटेको जनाइएको छ । शाखा रहित बैकिंग सेवाका लागि बैंकले अभिकर्ताहरुलाई अत्याधुनिक ट्याब्लेट प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा बैकिंग सेवा विस्तार भएपछि स–साना व्यापार, व्यवसाय गर्दै आएका साना व्यवसायी, महिला, जनजाति, आदिवासीहरुले खुशी व्यक्त गरेका छन् । 
शाखा रहित बैकिंग सेवाको विस्तारसंगै ग्रामीण क्षेत्रका जनताले सरल तथा सुलभ तरिकाले बैकिंग सेवाको उपभोग गर्न पाउने अपेक्षा गरिएको बैंकका धनगढी शाखा प्रबन्धक भट्टले बताए । उनका अनुसार बैंकले महिला उद्यमशील कर्जा, पशु पालन कर्जा, सस्तो घर कर्जा तथा कृषि कर्जा र सहज कर्जा सम्बन्धित क्षेत्रका अभिकर्ताको सिफारिसमा उपलब्ध गराउने छ । यस प्रकारको कर्जाले स्थानीय क्षेत्रमा रहेका उद्यमशील, लगनशील तथा इमान्दार जनताहरुलाई आफ्नो व्यापार, व्यवसाय बढाउन थप सहयोग मिल्ने विश्वास गरिएको बैंकले जनाएको छ । 
आगामी दिनमा बैकिंग नभएका क्षेत्रमा थप पाँच वटा ठाउँमा शाखा रहित सेवा विस्तार गर्ने कार्यक्रम रहेको जनाइएको छ । जनता बैंकले मुलुकभरी ४२ वटा शाखा तथा १९ वटा ठाउँहरुबाट शाखा रहित सेवा प्रदान गर्दै आएको छ ।