26 May Friday, 2017

Breaking News:

News

डीपीएलमा विराटनगर र काठमाण्डौंलाई सफलता

 
बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर किङ्ग्सले र काठमाण्डौं गोल्डेन्सले सफलता पाएका छन् । 
मङ्गलवार यहाँ स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा विराटनगरले २३ रनले घरेलु टोली धनगढी टिम चौराहालाई स्तब्ध पारेको हो । यस्तै, दिउँसो भएको दोस्रो खेलमा काठमाण्डौं गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले पाखा लगायो । कञ्चनपुरको लगातार यो दोस्रो हार हो । जितसंगै विराटनगर र काठमाण्डौं आफ्नो खातामा दुई अङ्क प्राप्त गरेका छन् । 
टस हारेर ब्याटिङ्ग गरेको विराटनगरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १३४ रन बनाएको थियो । विराटनगरको जितमा कप्तान शरद भेष्वाकरले कप्तानी पारी खेल्दै सर्वाधिक ४६ रन बनाए । ३२ बल सामना गर्नु भएको शरदले दुई छक्का र चार चौका प्रहार गरेका थिए । अनिल मण्डलले रन आउट गराएपछि शरदको अर्धसतक चुम्ने सपना तुहिएको थियो ।  त्यस्तै, अनिल साहले २८, प्रनित थापामगरले २१, अमित श्रेष्ठले १९ र आशिफ शेखले १० रनको योगदान दिए । विराटनगरलाई बढी रन बनाउनबाट रोक्ने क्रममा ललित राजवङ्शीले दुई तथा सुसन भारी, आरिफ शेख र रामनरेश गिरीले समान एक÷एक विकेट हात पारे । 
घरेलु समर्थककाबीच जवाफी ब्याटिङ्गमा उत्रेको धनगढी टिम चौराहाले पुरै ओभर खेल्दै नौ विकेट गुमाएर १११ रनमा समेटियो । नेपाली क्रिकेटका कप्तान समेत रहेका धनगढीका कप्तान पारस खड्का नौ बलको सामना गर्दै दुई रन बनाएर पवेलियन फर्केपछि उनका समर्थक निराश देखिएका थिए । पारसलाई सुशील कडेलले आशिफ शेखको हातबाट क्याच आउट गराए । धनगढीका लागि पुछारका ब्याट्सम्यान अमरसिंह रौतेलाले दुई छक्का र एक चौका सहित सर्वाधिक २६ रन बनाए । आक्रामक ब्याटिङ थालेका उनी छक्का हान्ने चक्करमा सुशील कँडेलको बलमा क्लीन बोल्ड भए । 
त्यस्तै, अनिल मण्डलले २४, राजु रिजालले १३ र सौरभ खनालले १० रन बनाउनबाहेक धनगढीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पृथु बास्कोटा ९, प्रेम तामाङ्ग र आरिफ शेख समान एक÷एक रनमा आउट भए । आठ बल सामना गरेका  सुसन भारी पाँच रन बनाउँदै नटआउट रहे । 
आफ्नो टिमको मध्यम स्कोर रक्षा गर्ने क्रममा विराटनगरका कप्तान भेष्वाकरले चार ओभरमा २० रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भइ पुरस्कृत भए । त्यस्तै, सुशील कँडेलले तीन, जितेन्द्र मुखियाले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे । 
यसैबीच, दिउँसो भएको दोस्रो खेलमा विनोद भण्डारीको कप्तानीमा रहेको कञ्चनपुर आइकोनिकले लगातार दोस्रो हार ब्यहोरेको छ । बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाण्डौं गोल्डेन्सले कञ्चनपुरलाई २४ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको काठमाण्डौंले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । 
काठमाण्डौंको जितमा भुवन कार्कीले अविजित ३६ रन प्रहार गर्दै म्यान अफ द म्याचको पुरस्कार आफ्नो पोल्टामा पारे । विष्फोटक ब्याटिङ्ग गरेका उनले १४ बलको सामना गर्दै दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । एस पाण्डेले १९, मञ्जित श्रेष्ठले १६, कप्तान बसन्त रेग्मीले १४, सन्दिप जोराले १३ र नरेश बुढाऐरले १० रनको योगदान दिए । 
बलिङ गर्दै अविनाश कर्णले कञ्चनपुरलाई सर्वाधिक तीन विकेटको सफलता दिलाए । त्यस्तै, केएस ऐरी, कुशल भुर्तेल, सुनिल धमला र एस तामाङ्गले समान एक÷एक विकेट हात पारे । 
जवाफी ब्याटिङ्गमा उत्रेको कञ्चनपुर आइकोनिकले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १२३ रन मात्रै बनाउन सक्यो । अन्तिम चार ओभरको खेल बाँकी रहँदा कञ्चनपुरले नाटकीय रुपमा लगातार विकेट गुमाएको थियो । उसका लागि सागर पुनले सर्वाधिक ४० रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । हसिम अन्सारीले १८, सुनिल धमलाले १४ र अविनाश कर्णले अविजित १३ रन बनाउन बाहेक अरु ब्याट्सम्यानहरु दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । कप्तान विनोद भण्डारीको एएसपी क्रिकेट मैदानमा खराब प्रदर्शन कायमै रहेको छ । 
कञ्चनपुरलाई हराउने क्रममा बसन्त रेग्मी र सन्तोष भट्टले समान दुई÷दुई विकेट लिए । सोमपाल कामी, सन्दिप जोरा र मञ्जित श्रेष्ठको भागमा एक÷एक विकेट प¥यो । 
बुधवार पहिलो खेल सीवाइसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सबीच हुनेछ । त्यस्तै, दोस्रो खेल विराटनगर किङ्ग्स र काठमाण्डौं गोल्डेन्सबीच हुने आयोजकले जानकारी दिएको छ । 
धनगढी क्रिकेट एकेडेमी र एसपीए कलेजको संयुक्त आयोजनामा वैशाख नौ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले सात लाख रुपिया पुरस्कार पाउनेछन् । प्रतियोगिता अवधिभरी टिकटबाट उठेको रकमको १५ प्रतिशत रुपिया धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ‘ड्रिम फाप्ला’ अभियानलाई दिइने आयोजकले जानकारी दिएको छ ।