26 May Friday, 2017

Breaking News:

News

जनतामा चुनावी उत्साह

थारु बाहुल्य कैलालीको कैलारी गाउँपालिकामा चुनावी चहलपहल बढेको छ । जनताहरु गहुँ भित्र्याउनमा व्यस्त रहेका बेला राजनीतिक दल आबद्ध थारु नेताहरु भने चुनावको तयारीमा लागिरहेका छन् । 
थरुहट स्वायत्त क्षेत्रको रुपमा रहेको कैलारी गाउँपालिकामा करिब ४८ हजार मतदाता छन् । स्थानीय जनताहरु खेतीपातीको काममा रहे पनि नेताहरु भने चुनावी प्रचार प्रसारमा जुटि सकेको नेकपा एमालेका नेता चन्द्रीका प्रसाद चौधरीले बताए । ‘यति बेला जनतालाई गहुँ भित्र्याउन चटारो छ, राजनीतिक दललाई भने चुनावको’, उनले अगाडि थपे–‘सबै पार्टीका नेताहरु चुनावी अभियानमा जुटेका छन् ।’
थारु बाहुल्य सो गाउँपालिकामा प्रायः सबै पार्टीबाट गाउँपालिका प्रमुखको उम्मेदवारका लागि थारु नेता नै आकाङ्क्षी देखिएका छन् । नेपाली काङ्ग्रेसबाट रामसमझ चौधरी, राजसमझ चौधरी, भागीराम चौधरी, रामचरण चौधरी, खेमराज चौधरी लगायतका नेताहरुको चर्चा चलेको छ । रामसमझ र राजसमझ दाईभाई हुन । राजसमझ मोहनपुर स्थित प्राथमिक विद्यालयको प्रध्यानाध्यापक समेत रहेका थिए । चुनावमा उत्रिनका लागि उनले शिक्षक जागिरबाट राजीनामा दिएको बताइएको छ । 
यस्तै, नेकपा एमालेबाट ४÷५ जना आकाङ्क्षी छन् । पार्टीको निर्णय अनुसार आकाङ्क्षीहरुको नाम नखुलाइएको चन्द्रिका चौधरीले जानकारी दिए । यद्यपि, आकाङ्क्षी सबै जना चुनावी अभियानमा लागेको बताए । 
यस्तै, नेकपा माओवादी केन्द्रबाट लाजुराम चौधरी अङ्कित, अभिषेक चौधरी लगायतका नेताहरु गाउँपालिका प्रमुखको उम्मेदवारी पाउनु पर्ने भन्दै लविङ्ग गरिरहेका छन् । राप्रपाबाट होमबहादुर गुरुङको चर्चा रहेको छ । 
कैलारी गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने नेताहरुले दावी गरेका छन् । सो गाउँपालिकामा माओवादी केन्द्र र काङ्ग्रेस बलियो मानिन्छ । पछिल्लो समय मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि सो ठाउँमा शक्तिको रुपमा उदाएको छ । 
पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले जितेको सो क्षेत्रमा दोस्रो निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बाजी मारेको थियो । २०६४ को निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीबाट वीरमान चौधरी र २०७० को निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीले जित हात पारेका थिए । 
साविकको रतनपुर, पवेरा, हसुलिया, बसौटी र उदासीपुर गाविस मिलाएर कैलारी गाउँपालिका कायम गरिएको हो । निर्वाचन क्षेत्र नम्बर तीन र चार अन्तर्गत पर्ने उक्त गाउँपालिकामा करिब ९० प्रतिशत थारु समुदायको मात्रै बसोबास छ । विभिन्न पार्टीबाट थारु नेताहरु उठेपछि मत विभाजन हुने सम्भावना रहे पनि कैलारी गाउँपालिकामा थारु उम्मेदवार नै जित्ने नेताहरुको दावी छ । 
विभिन्न पार्टी आवद्ध थारु नेताहरु आफ्नो पक्षमा वातावरण बनाउनका लागि दौडधुप गरिरहेका छन् । चुनावी चहल पहल बढेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका नेता रामचरण चौधरीले प्रायः सबै दलका नेताहरु प्रचार प्रसारमा जुटेको बताए । 
थारु समुदायले उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै थरुहट तराई पार्टी आवद्ध नेताहरुले भने चुनावी गतिविधिमा नलाग्ने बताएका छन् । समस्या समाधान नहुँदै चुनाव गराउन लागेको भन्दै थरुहट तराई पार्टीले स्थानीय तहको चुनाव गर्न नहुने भनेर जिकिर गर्दै आएको छ । 
यस्तै, कैलालीको  पहाडी क्षेत्रको  मोहन्याल गाँउपालिका चुनावमै बनेको छ । १८ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावका लागि राजनीतिक दलका नेता, स्थानीय जनता सबै उत्साहित भएका छन् ।
सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने सो क्षेत्रका स्थानीयले स्थानीय तहको चुनावपछि मोहन्याल गाउँपालिकाको विकासमा टेवा पुग्ने अपेक्षा गर्दै उत्साहित भएका हुन । मोहन्यालमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा बीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट भिम बहादुर तामझाली र खडक देउवाको प्रमुखको अध्यक्षका लागि चर्चा रहेको छ । त्यस्तै, नेकपा एमालेबाट नन्दराम बजगाई, भगिरथ भाट, खर प्रसाद अधिकारीको लगायत आंकाक्षी छन् । माओवादी केन्द्रमा आँकाक्षी बढी भएपनि हिमशिखरको बढी चर्चामा छ । राप्रपाबाट गणेश बम, मान बहादुर मास्की र तिलसरि बुढाको आकांक्षी देखिएका छन् । स्थानीय नेताहरु चुनावी दौडधुपमा लागेका छन् । 
राजनीतिक दलहरु चुनावी अभियानमा जुटीरहेका बेला जनताहरु पनि उत्साहित भएको मोहन्याल गाउँपलिका–४ पटेनीका शिक्षक मिन चन्दले बताए । स्थानीय तहको चुनावमा जनताले पार्टी भन्दा पनि विकास गर्ने नेता हेरेर मतदान गर्ने उनको भनाइ छ । 
राप्रपाबाट अध्यक्षका आकांक्षी गणेश बमले विकास गर्ने व्यक्तिलाई पार्टीहरुले टिकट र जनताले भोट दिनु पर्ने बताए । 
माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय हिमशिखर, रबि शाही लगायत तीन जना अध्यक्षको आकांक्षी छन् । जनताले पत्याएको र बलियो पनि रहेकाले पार्टीले आफूलाई टिकट दिनु पर्ने उपाध्यायले बताए । 
त्यस्तै, नेकपा एमालेका भगिरथ भाटले मोहन्यालको समस्या आफूले बुझेको र जनताले पनि पत्याएकाले पार्टीले टिकट दिने विश्वास व्यक्त गरे । 
मगर समुदायको बाहुल्यता रहेको मोहन्याल गाँउ पालिकामा स्थानीय तहको चुनावमा भने त्यो समुदायबाट प्रतिनिधित्व नहुने पक्कापक्की जस्तै भएको छ । राजनीतिक पहुँच नहुँदा आफ्नो समुदायको प्रतिनिधित्व हुने सम्भावना नदेखिएको मोहन्याल गाउँपालिकामा बसोबास गर्ने मगर समुदायले बताएका छन् । सो ठाउँलाई मगर स्वायत्त क्षेत्र बनाउनु पर्ने सो ठाउँका मगर समुदायले माग गर्दै आएका छन् । 
तराई क्षेत्रको विभिन्न सहरमा बस्नेहरुले मोहन्यालमा राजनीति गर्ने गरेका कारण मोहन्यालको अहिलेसम्म विकास हुन नसकेको कतिपयको बुझाई छ । दलका नेताहरु सहरबाट राजनीति गर्ने र जनताहरुको राजनीतिमा पहुँच हुन नसकेका कारण मोहन्यालको विकास हुन नसकेको मोहन्याल गाविसका पूर्व अध्यक्ष खडक बुढामगरको भनाइ छ । उनले मोहन्याल मगर समुदायको बाहुल्यता रहेको क्षेत्र रहे पनि उक्त समुदायको राजनीति अधिकार सुरक्षित हुन नसकेको बताए । 
मोहन्याल गाउँपालिकाको सबै क्षेत्रमा सडक सञ्जाल पुग्न सकेको छैन । कतिपय ठाउँ पुग्नकै लागि दिनभरी पैदल हिड्नु पर्ने वाध्यता रहेको छ । स्थानीय तहमा जनताको प्रतिनिधि पुगेमा विकासले गति लिने नेता तथा सर्वसाधारणको अपेक्षा छ । 

  ‘आश्वसन बाँडनेलाई भोट दिन्नौं’

चुनाव जित्नको लागि झुटो आश्वासन र खोक्रा भाषण गर्दैै हिडने नेता तथा दललाई आगामी स्थानीय तहको चुनावमा तह लगाउने धनगढीका मुक्त कमैयाले चेतावनी दिएका छन ।  
विगत १६ वर्षदेखि धनगढी उपमहानगरपालिका १, पुरानो एयरपोर्टको मुक्त कमैया शिविरमा बस्दै आएका उनीहरुले विगतमा भएका चुनावमा पार्टीहरुले झुटो आश्वासन मात्रै दिएको गुनासो गरेका छन । विभिन्न तहको चुनावको बेला नेता तथा पार्टीले विगत १६ वर्षदेखि बस्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराईदिने आश्वासन दिने गरेका छन । तर, लालपुर्जा मात्रै हैन, उक्त टोलमा बिजुली, खानेपानी, सडक, ढल लगायतका दर्जनौं समस्या उनीहरुले वर्षौदेखि भोगिरहेका छन । त्यसैले जुन पार्टीले माग तथा समस्या सम्बोधनका लागि लिखित प्रतिवद्धता जनाउछ, त्यहि पार्टीलाई भोट दिने जिकिर गरेका छन् । 
यसअघि भएका चुनावमा चुनाव जित्नका लागि नेता तथा पार्टीले  दिएका झुटो आश्वासनले आजित बनेका धनगढी उपमहानगरपालिका १, पुरानो एयरपोर्टमा बसोबास गर्दै आईरहेका मुक्त कमैयाहरुले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा कसैको आश्वासनमा नफस्ने बताएका हुन । विगतका चुनावमा आश्वासन र खाक्रो भाषण मात्रै पाएको बताउने मुक्तकमैयाले यसपालिको चुनावमा त्यस्ता नेता र पार्टीलाई भोट नदिएर तह लगाउने सो शिविरका सीताराम चौधरीले बताए । 
उनले भने–‘विगतमा हामीले आश्वसन बाहेक केही पाएका छैनौं । अब आश्वसन होईन हामीलाई लिखित प्रतिबद्धता चाहिएको छ । आश्वसन दिने नेतालाई तह लगाउँछौं ।’
करिब १६ वर्षदेखि  पुरानो एयरपोर्टमा बस्दै आएका उनीहरुले. अझैसम्म जग्गाको लालपुर्जा पाउन सकेका छैनन । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र तथा धनगढी उपमहानगरपालिकाको कार्यालयल नजिकै रहेको उक्त टोलवासीको बिजुली बाल्ने सपना पनि सपनामै सीमित रहेको छ । छेउमै सडकमा पोल छ । बत्ति बल्छ । तर, त्यहि बत्तीमुनीको अँध्यारोमा उनीहरु बसिरहेका छन् । 
त्यति मात्रै हैन, उक्त टोलवासीले खानेपानीको रुपमा नल्काको पानी प्रयोग गर्दै आईरहेका छन भने उचित ढल निकासको व्यवस्था नहुदा वर्षायाममा डुवानको समस्या भोग्दै आएका छन । सडक पनि ग्राभेल छैन । आफूहरुले विभिन्न समस्या भोगिरहेको गुनासो गर्दै एक जना स्थानीय गोमन चौधरी समस्या समाधन गर्ने प्रतिवद्धता जनाउने पार्टीलाई चुनावमा भोट हाल्ने बताए । 
धनगढीका चौक चौक तथा चिया पसलमा चुनावकै चर्चा परिचर्चा हुने गरेको भएपनि उक्त टोलमा भने चुनावले छोएको छैन । उनीहरु साँझ बिहानको छाक टार्नका लागि बिहानैदेखि आ–आफ्नो काममा जुटेका हुन्छन् । टोलमा हाल सम्ममा कुनै नेता पनि पुगेका छैनन । हुन त विगतका चुनावमा पनि चुनावको पूर्वसन्ध्यामा टोलमा आएर झटटा आश्वासन बाडदै भोट माग्ने गरेको तितो अनुभव उनीहरुले अभैm विर्सन सकेका छैनन । 
यसपटकको चुनावमा पनि झुटटा आश्वासन र खाक्रो भाषण गर्दै आफनो टोलमा भोट माग्ने नेतालाई आफना माग र समस्या समाधानका लागि लिखित प्रतिवद्धता जनाएर मात्रै भोट दिने निर्णय गरेको मुक्त कमैया टोलका अध्यक्ष चल्लुराम चौधरीले बताए । 
उनले पूर्व कमैयाको समस्यालाई नेताहरुले माँगी खाने भाडो बनाउने गरेको आरोप लगाउँदै कमैयाहरुले समस्याको समाधान चाहेको बताए ।