26 May Friday, 2017

Breaking News:

News

जानकीमन्दिर घटना निन्दनीय कार्य

बिबाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्या भण्डारीले जनकपुरको रामजनकी मन्दिर प्रबेश गर्दा र प्रबेश गरिसकेपछि स्थानीय बासिन्दा,खासगरी आन्दोलनरत मधेशी मोर्चाबाट जुन किसिमको व्यवहार र कार्य भयो, त्यो अत्यन्तै निन्दनीय खेद जनक छ । आपत्तीजनक छ । नेपालको राजनैतिक ईतिहासमा पहिलो पटक एक महिला देशको सर्बोच्च पदमा पुग्नु आफैमा गौरवमय क्षण हो । बिधवाका रुपमा राष्ट्रपतिलाई हेरिनु आफैमा गलत हो । कोही बिदुर हुनु वा बिधवा हुनु पाप होईन । बिधवा भएकै कारण राष्ट्रपति भण्डारीलाइ रामजानकी मन्दिरमा प्रबेश गर्न नदिन स्थानीय बासिन्दाले गरेको दुस्प्रयास र त्यसपछि उहाँ प्रबेश गरेर मन्दिर अपवित्र भएको भन्दै गंगाजलले मन्दिर पखाल्ने कार्य हुनुले नेपालीको शीर झुकाएको छ । विश्वमै नेपाललाई लज्जित गराएको छ । मधेशीमोर्चाको आन्दोलन समानता, न्याय र राज्यका हरेक निकायमा मधेशी समुदायको समान तथा समाबेशी सहभागिता सुनिश्चित गर्न राज्यलाई दवाव दिने उद्देश्यले सञ्चालन भईरहेको होईन रहेछ,भन्ने पनि यो घट्नाले पुष्टि गरेको छ । एउटा महिलाको प्रबेशले मन्दिर अपवित्र हुन्छ भन्ने सोच निकै घृणित सोच हो । महिलाको सम्मान नगर्नेले समानता, न्याय, समाबेशिताका कुरा गर्न सुहाउदैन । यदि त्यस्तो मान्छेले यस्ता कुरा गर्यो भने त्यो ढोंग मात्र हुन्छ । जनकपुरमा जे भयो, त्यसले मिथिला सभ्यता र संस्कारको अपमान गरेको छ । जनकको त्यही भूमि जहाँ जानकीको जन्म भयो । जसलाई जनक भन्दा पनि जानकीले चिनाईन । त्यही भ
मिमा एक नारीको अपमान भएको छ । जे सुकै बहाना र नाममा भएपनि त्यो गलत हो । कुनै पनि नाम दिएर यो कुकृत्यलाई पुष्टी गर्न सकिदैन । जायज मान्न सकिदैन । 
साउदी अरवमा केही साता अघि मात्र महिलाले निर्वाचनमा मतदात गर्न पाएको समाचार धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्रेकिङ न्यूज बनिरहेको थियो । तर नेपालजस्तो विकासोन्मुख मुलुकमा २०१५ सालमा नै सुदूरपश्चिमकी नेतृ द्धारिकादेवी ठकुरानीले स्वास्थ्य सहायक मन्त्री बनेर एशियामै एउटा गर्विलो ईतिहास बनाउनु भएको थियो । जतिबेला विश्वका थुप्रै अति विकसित मुलुकहरुमा महिलाहरुले मतदानको अधिकार नै पाएका थिएनन ।  
तर आज त्यही देशमा महिला राष्ट्रपतिमाथि जुन किसिमको व्यवहार भयो, त्यसले विश्वमै नेपाललाई लज्जित गराएको छ । आन्दोलनकारीहरु जसले राष्ट्रपतिमाथि एक बिधवा महिला भएकै कारण देखाएर जुन किसिमको व्यवहार गरे । त्यसप्रति क्षमा माग्नुपर्छ । जहाँ एक महिलाको सम्मान हुन सक्दैन । त्यहाँ कसैले न्याय र सम्मानको अपेक्षा गर्न सक्दैन । र ती मान्छेहरुले न्याय र समानताका कुरा गर्न पटक्कै सुहाउदैन । अराजक, उग्र र हिंस्रक र मानव जातीको शीर निहुराउने खालका गतिबिधि मधेशी मोर्चाले अविलम्ब रोक्नु पर्छ । यस्ता क्रियाकलापले आन्दोलनका जायज एजेण्डा पनि ओझेलमा पर्नेछन् । यसको हेक्का आन्दोलनकारीले पनि राख्न जरुरी छ ।