26 May Friday, 2017

Breaking News:

News

बन्द गर घृणा र निषेधको राजनीति

नेपाल बहुजाती र बहुभाषिक भएको मुलुक हो । यो कहिले पराधीन भएन । र कुनै राष्ट्रको उपनिबेश भएन । समग्र नेपालीका लागि यो गौरवपूर्ण ईतिहास हो । बिदेशीको कहिल्यै दास हुनु नपरेको ईतिहास त्यसै बनेको होईन । सबै जातजाती, भाषी, बर्ग, लिंग र समुदाय सधै एक ढिक्का भएका कारण मात्र यो गौरवपूर्ण ईतिहास संभव भएको हो । नालापानीमा शीर काटिए । तर नेपाली झुकेन । विश्वका ठूला र साम्रज्यवादी मुलुकले कहिले नेपाललाई आफ्नो अधिनमा पार्न सकेन । बरु ती मुलुकका सीमा जोगाउन आफ्नो ज्यानको आहुती समेत दिए । अंग्रेजका लागि गोर्खालीले लडेको ईतिहास अझै ताजै छ । तीनै अंग्रेजले सयौ वर्ष शासन गरेको भारतको सीमा सुरक्षाका लागि यतिबेला पनि गोर्खालीहरु गोर्खा रेजिमेण्ट मार्फत भारतको सीमामा खटिएका छन् । पहरा दिईरहेका छन् । छिमेकी भारतको सुरक्षाका लागि आफ्नो ज्यान न्यौछावर गर्ने नेपालीहरुको उदार र महान हृदयलाई सम्मान गर्नुको साटो त्यही भारत भने नेपाललाई नै अप्ठ्यारोमा पार्ने नियतले नाकाबन्दी लगाईरहेको छ ।यसले भारतको दादागिरी वा ठूल्दाई प्रबृति मात्र देखाउदैन । छिमेकी प्रति उसले गर्ने व्यबहार र बोलीमा कति फरक रहेछ भन्ने कुरा पनि प्रष्ट पार्छ । किनकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्प आउदा र नेपाल भ्रमणका क्रममा दिएको अभिव्यक्ति र त्यस यता उनले गरेको व्यवहारमा कति अन्तर रहेछ । त्यो बालकदेखि बृद्धि सबै नेपालीले महशुस गरेका छन् ।
यद्दपि भारत वा मोदी सरकारले नेपालमाथि आज जे जस्तो व्यवहार गरिरहेको छ । त्यसका लागि नेपालीहरु पनि केही हदसम्म जिम्मेवार छन् । आन्दोलन गरिरहेकाहरुले नेपालमा हस्तक्षेप गर्न गरेको खुला आमन्त्रणका कारण पनि मोदी यो हदसम्म उत्रिएका हुन् । भारत सरकारले नेपालीहरु फुट्दाको फाईदा उठाईरहेको हो । यो कुरा जग जाहेर छ । हिजो नेपालीहरु एक ढिक्का भएकै कारण कहिले पराधीन हुन परेन । आज नेपालीहरु आपसमै फुट्दा भारतले हेपेको हो । तराई, मधेश, पहाड, हिमाल, जहाँ बसेपनि सबै नेपाली नै हो । नेपाल रहे मात्र नेपालीको पहिचान रहन्छ । स्वाभिमान रहन्छ । त्यसैले बिगतबाट पाठ सिक्दै र बिगतको गौरवपूर्ण ईतिहासलाई सम्झिदै भारतीय हस्तक्षेपका बिरुद्ध आन्दोलनमा रहेका र सत्तामा रहेकाहरु एक ठाऊमा उभिन जरुरी छ । संबिधानका विषयमा रहेका बिबाद र असन्तुष्टीहरुलाई आपसमै बसेर समाधान निकाल्नुपर्छ । यो बिबाद समाधानका लागि भारत वा अन्य देशलाई आमन्त्रण गर्नु राष्ट्र र राष्ट्रियताका लागि नै घातक हुन्छ । र जातजातीमा कोही बिभाजन हुनु हुदैन । गोरो भएपनि कालो भएपनि, मधेशमा बसेपनि पहाडमा बसेपनि त्यो नेपाली नै हो । अनुहार हेरेर निषेध नगरौ । जात वा बर्ण हेरेर घृणा नगरौ । घृणा र निषेधले द्धन्द मात्र जन्माउछ । एकले अर्कालाई सम्मान गरौ । नेपालीले नेपालीमाथि गर्ने सौहार्द व्यवहार गरौ । र समाधानका लागि संवाद र छलफल रोजौ ।