26 May Friday, 2017

Breaking News:

News

image not found

हिँड्ने माछाले ल्याएको सनसनी

हिन्दु धार्मिक ग्रन्थअनुसार भगवानको पहिलो अवतार माछा हो। त्यसपछि जमिन र पानी दुवैमा बाँच्न सक्ने कछुवाको अवतार भयो। अनि मात्र जमिनमा पूर्ण रूपले बाँच्न सक्ने बँदेल, सानो कदको मानिस हुँदै अन्त्यमा पूर्ण आकारको मानिसका रूपमा भगवानले अवतार लिएको चामत्कारिक कथा धर्मग्रन्थमा पढ्न पाइन्छ।

केही विद्वानले धार्मिक ग्रन्थको कथा र विज्ञानको ‘क्रमिक विकास सिद्धान्त’ (इभोलुसनरी साइन्स) उस्तै रहेको दाबी गर्दै आएका थिए। पछिल्लो अनुसन्धान नतिजाले यो दाबी प्रमाणित गरेको वैज्ञानिकहरूको भनाइ छ।

करिब ३७ करोड ५० लाख वर्षअघि समुद्रमा पौडने माछा नै जमिनमा हिँडडुल गर्नसक्ने मेरुदण्ड भएका स्तनधारी जन्तुमा विकसित भएको वैज्ञानिक दाबी छ। मान्छेको उत्पत्ति माछाबाट भएको हुनसक्ने बलियो आधार फेला परेको उनीहरूले बताएका छन्।

वैज्ञानिकले पहिल्याएका ती आधार हुन् : मानिस र माछा दुवैमा समान रूपले विकास हुने भ्रुण, बाडुली लाग्ने प्रक्रिया र नाकको ठिकमुनि माथिल्लो ओठमा देखिने खोबिल्डा।

अब उनीहरूका लागि गहन प्रश्न हो– कसरी सम्भव हुन सक्यो समुद्रमा उद्भव भएर जमिनमा फैलिएको माछाको चामत्कारिक बसाइसराइ?

अहिलेसम्म वैज्ञानिकले यो खोजका निम्ति समुद्रमा विकसित भएका र जमिनमा बाँच्न सक्ने ‘मध्यम’ जन्तुका अवशेष अध्ययन गर्दै आएका थिए। तर, हालै थाइल्यान्डमा आँखा नदेख्ने प्रजातिको यस्तो माछा भेटिएको छ, जो मेरुदण्ड भएका चारखुट्टे स्तनधारी जन्तुजस्तै हिँडेरै झरनामा उक्लन सक्छ। इभोलुसनरी साइन्सको अनुसन्धानमै सनसनी मच्चाएको यो माछाको खोजलाई विश्वभरका प्रमुख मिडियाले निकै महत्व दिएका छन्। न्यूयोर्क टाइम्सले त यसबारे पहिलो पृष्ठमै लामो समाचार छापेको छ।

अमेरिकाको न्युजर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले ‘नेचर साइन्स रिपोर्ट’ नामको जर्नलमा हातखुट्टा भएको जन्तुजस्तै हिँड्नसक्ने उक्त माछाको गतिविधिबारे विस्तारपूर्वक लेखेका छन्।

‘पूर्ण अन्धकारमा उक्त प्रजातिका माछा ढुंगामा टाँसिन्छन् र हिँडेरै झरनामाथि उक्लन्छन्,’ अनुसन्धानमा संग्लग्न वैज्ञानिक ब्रुक फ्लाम्याङ भन्छिन्, ‘स्तनधारी जनावरको जस्तै यो माछाको मेरुदण्ड र कम्मरको हड्डी छ, जुन आपसमा जोडिएका छन्। यसले माछालाई गुरुत्वाकर्षणविरुद्ध आड दिन्छ र हिँड्न मांसपेसी प्रदान गर्छ।’

उनका अनुसार अन्य कुनै पनि माछाका प्रजातिमा यस्तो गुण हुँदैन। सुख्खा भुइँमा छाडिदिँदा माछा असहाय भएर छट्पटाउँछ। यसको एउटा कारण हो, माछाका पखेटाले पानीमा पौडन मात्र काम गर्छ, सोझै गुरुत्वाकर्षणविरुद्ध काम गर्न सक्दैन। जबकि यो माछामा त्यो शक्ति पनि छ।